काठमाडौं । नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्याको शिरमा रहेको घ्याङ्गस्वरा छ। समुद्री सतहबाट दुई हजार चार सय ५० मिटरको उचाइमा रहेको घ्याङ्गस्वरा एक दशक अगाडि झाडी नै झाडी थियो । यहाँ पर्यटक भित्र्याउन संरचना निर्माण गर्ने योजना बनाउँदा कसैले पनि विश्वास गरेका थिएनन् । अहिले यो क्षेत्र नुवाकोट कै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । आँखै अगाडि देखिने हिमशृङ्खला, अग्ला पहाड र यहाँबाट देखिने अनगिन्ती मनमोहक दृश्यले आगन्तुकलाई आकर्षण गरिरहेको छ । परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् । जसले वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरेको छ ।
आ.व. २०७७/७८ को चैत्र महिना बाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत “घ्याङस्वरा सहिद स्मारक पर्यटकीय स्थल निर्माण” योजना लागू भएपछि त्यहाँको स्वरूप बदलिएको छ । उक्त योजना सम्पन्न भएपछि घ्याङस्वरा सहिद स्मारक पार्क तथा खेलमैदानका रूपमा विकास भएको छ ।
अहिले वनको झार सफा गरिएको छ । चारैतिर झाडी र बुट्यान फाडी सुन्दर बनाइएको छ । वरिपरि फूल तथा विरुवा रोपिएका छन् । रुखहरू रङ्गाइएका छन् । पिकनिक खान आउनेहरूका लागि टहराहरू बनाइएका छन् । सहिद स्मारक सालिक निर्माण गरिएको छ । खानेपानीको व्यवस्था तथा शौचालय निर्माण गरिएको छ । खेल मैदानलाई व्यवस्थित बनाउने कार्य भइरहेको छ । पछिल्लो समय केही बर्षमा इलामको झल्को दिने उदेश्यले लगभग २८ रोपनीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चिया रोपणको सम्पूर्ण कार्य र विरुवा रोप्ने कार्य श्रम दान मार्फत गरिएको छ ।
‘घ्याङ्गस्वराको स्वरूप र चर्चा भएको देखिए पछि चकित भएर पिकनिक र घुम्न आएको मध्ये एक जना पर्यटक भन्छन्‘ अहिले घ्याङस्वराको स्वरूप बदलिएको देख्दा दङ्ग छु । झन्डै ३६ महिना अघिसम्म फाटफुट जान मन लाग्ने त्यो ठाउँ अहिले जाउँ जाउँ लाग्ने भएको छ,’ उनी भन्छन् ।
घ्याङ्गस्वरा पर्यटकीय स्थलका रूपमा विकास भएपछि उनी मात्रै होइन, यहाँ घुम्न आउने पनि दङ्ग छन् । “पहिलो कुरा त यस प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यहाँका बेरोजगारले रोजगारी पाए । अर्को, कुरूप झाडी वन सुन्दर बन्यो”, साथै यसले पर्यटन प्रवर्द्धन र विकासको ढोका पनि खुलाएको छ ।
दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने गरेकामा बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक पुग्ने गरेको देखिन्छ । “घ्याङ्गस्वरा पर्यटकीय अहिले धेरै संरचना बन्ने चरणमा छन्, पहिले यहाँ आउने पर्यटक निकै कम भएकामा पछिल्लो समय प्रचारप्रसार बढी भयो र देश विदेशबाट पर्यटक आउने गरेका छन्, पर्यटक आउने दिन खाली हुँदैन, जहिले पनि आइराख्छन्”, भने । “बजार नजिकै भयो, सडक पनि राम्रै छ, त्यही भएर पनि पर्यटक आउन सहज भएको हो । बिदाका दिन सबैभन्दा बढी पर्यटकको आगमन हुन्छ, पर्यटन प्रवर्द्धन लागि बिभिन्न तयारी भइरहेको छ ।