बर्दिबास । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका लागि चार दिने क्षमता विकास तालिम शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीको प्रमुख आतिथ्यमा शुभआरम्भ भएको तालिममा मधेश प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका सम्पुर्ण स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजक, रोजगार सहायक र उक्त जिम्मेवारीमा रहेका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका सह सचिव तथा राष्ट्रिय कार्यक्रम निर्देशक नरेश राज खरेलको अध्यक्षतामा उदघाटन भएको सो तालिममा अन्तराष्ट्रिय श्रम संगठनका सौरभ राम जोशीले कामलाई मर्यादित र सामाजिक उतरदायी बनाउनका लागि आर्थिक रुपान्तरणका लागि पाँच बर्षे रोजगारी रणनिती लागु गरिएको बताउनुभयो । रोजगार रणनीतिको प्रथमिकताहरुमा शिप विकास र रोजगारी प्रवर्द्धन, रोजगारदाता र श्रमिकहरुको हक, अधिकार र कर्तब्य तथा सामाजिक संवादलाई प्राथमिकतामा राखिएको भन्दै रोजगारी प्रवर्द्धनमा जोड दिनका लागि रोजगारीको क्षेत्रको विकासका लागि हामी सबैले स्वदेशी उत्पादनमा जोड दिनु पर्ने र रोजगार सेवा केन्द्रबाट प्रवाह गर्नु पर्ने रोजगार सहायताका कार्यहरु निष्पक्ष र निस्वार्थ रुपमा गर्नुका साथै लैङ्गिक समानता र सामाजिक समावेशिकरणलाई प्राथमिकतामा राखि परामर्श सेवा, संप्रेशण र जब मैचिङ्ग आवश्यक रहेकोले शिप, श्रम र मर्यादित रोजगारी सबैको जिम्मेवारी भन्ने नारालाई आत्मसात गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका लागि चार दिने क्षमता विकास तालिमको उद्देश्य र आवश्यताबारे प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव बसन्त बोहराले प्रकाश पार्नु भएको थियो । श्रम कार्यालय जनकपुरका उपसचिव धर्मराज रोकायाले बैदेशिक रोजगारको शिलशिलामा देशका यूवा जनशक्ति बिदेशीने क्रम दिन प्रतिदिन बढदै गएकोले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बैदेशिक रोजगारमा जानु पूर्वको भाषा शिक्षा तथा शिप विकासको कुरामा जोड दिनु पर्ने र बैदेशिक रोजगारीमा जाने श्रमिकलाई रोजगार सेवा केन्द्र मार्फत प्रभावकारी परामर्श दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले यो चार दिने तालिममा पूर्ण रुपमा अन्तरक्रियात्मक ढंगले सहभागी भई रोजगार सेवा केन्द्रका कर्मचारीहरुले आ(आफ्नो कार्यक्षेत्रमा फर्किनु पर्ने बताउदै रोजगार सेवा केन्द्रका कर्मचारीहरु माथी मन्त्रालय बिश्वश्त रहेको छ । सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु नै गेम चेन्जरको रुपमा रहेकोले यहाँहरुले प्रत्यक्ष रुपमा जनताको माझमा रहेर काम गर्ने र प्रभावकारी सेवा तथा परामर्शबाट रोजगारीको क्षेत्रमा गेम चेन्ज हुन सक्ने बताउनुभयो ।
सोर्हौ पञ्चबर्षिय योजना र अगामी आर्थिक बर्षको कार्यक्रम तर्जुमाको क्रममा रहेकोले रोजगार सेवा केन्द्रलाई स्थानीय तहको स्थायी संरचनाको रुपमा राख्ने प्रस्तावना रहेको बताउदै गेम चेन्जरको रुपमा रहेको सेवा केन्द्रका कर्मचारीहरुलाई आफ्नै गेमको ठेगान नरहेकोमा चिन्तित रहेकोमा आतिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । तर यस संरचना र कार्यरत पदको औचित्य के भन्ने हामी पुष्टयाई गर्नु पर्ने र केन्द्र र औचित्य पुष्टियाई नभए राज्यले दायित्व किन सृजना गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउनु भयो । सुरक्षित र मर्यादित श्रमलाई जोड दिनु पर्ने भन्दै मन्त्रालयले राष्ट्रिय अप्रवासन नीति बनाउने कार्यको थालनी भएको छ । बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरु देशको लागि ठूलो शक्ति भएकोले अप्रवाशीहरुलाई कसरी ब्यवस्थापन गर्ने आवश्यकता रहेको बताउदै देशमा काम गर्ने संस्कारको विकास नभएको तथा श्रमको सम्मान नभएकोले त्यही काम विदेशमा गएर गर्ने र यहाँ गर्न नमान्ने अवस्था रहेको छ । साथै यहाँ बस्ने जति सबै काम गर्न सक्ने क्षमता नभएकोहरु मात्र रहेको भास्य बनेको बताउनु भयो ।
अगामी आ.व. २०८१/८२ देखि २०९०/९१ सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको मानाउने निर्णय गरेकोमा अब आन्तरिक रोजगार प्रवद्धन गर्ने जिम्मेवारी हामी सबैको भए पनि खास जिम्मेवारी रोजगार सेवा केन्द्रको भएकोले भरपर्दो सेवा प्रवाहका साथै मिसमैच अवधारणाबाट आन्तरिक रोजगारी प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनु भयो । अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा चार दिन सम्म संचालन हुने रोजगार सेवा केन्द्रका कर्मचारीहरुको लागि क्षमता विकास तालिमको उदघाटन शत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको शाखा अधिकृत पंकज लाभ कर्णले संचालन गर्न भएको थियो ।