बर्दिबास । प्रधानमन्त्री रोजगार कार्यक्रमको आ.व. २०८०/२०८१ को वार्षिक समिक्षा गोष्ठी मधेश प्रदेशको बर्दिवासमा सञ्चालन गरिएको छ । मधेश प्रदेशको १३६ बटै स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजक तथा सो जिम्मेवारीमा रहेका प्रतिनिधि कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको उदघाटन सत्र नेपाल सरकार ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डु राज घिमिरे, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सिला मिश्र, महोत्तरी जिल्ला समन्वय समिति प्रमुख सुमन कर्ण लगायतका उपस्थिति रहेको थियो ।
समिक्षा कार्यक्रममा कार्यक्रमका निर्देशक घिमिरेले कार्यक्रम सञ्चालनको छैठौ बर्ष भए संगै रोजगार सेवा केन्द्रको जिम्मेवारी पनि बढदै गएको र यसमा सम्पूर्ण रोजगार संयोजक लगायतका टिमले प्रभावकारी रुपमा परिणाममुखी कार्य गर्नु पर्नेमा मधेश प्रदेशका १३६ स्थानीय तहहरु मध्ये १२३ स्थानीय तहले मात्र बेरोजगार ब्यक्तिको सूचीकरण गरेको र १२४ स्थानीय तहमा मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएकोले यसमा सुधार गर्नुपर्ने बताउनु भयो ।
मधेश प्रदेशमा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या अत्यधिक रहेकोले श्रम बजारको माग अनुसारको सीप विकास तालिम सञ्चालन गरि आन्तरिक रोजगारी सृजना गर्नुपर्ने मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सिला मिश्रले प्रकाश पार्नु भयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगारी सृजना मात्र रहेकोले आन्तरिक रोजगारी सृजना नगरेसम्म वैदेशिक रोजगारीलाई प्रतिस्थापन गर्न नसकिने र यसका लागि मन्त्रालयमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा सृजना गरिने बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिमार्जनमा गृहकार्य भइरहेकोमा प्रधानमन्त्रीको निर्देशन अनुसार अब आउने कार्यक्रम जनता रोजगार कार्यक्रम लगायतको नाममा हुन सक्ने बताउनु भयो ।
समिक्षा कार्यक्रममा मधेश प्रदेशमा उत्कृत कार्यसम्पादन गरेका तीनवटा पालिकाहरुलाई सम्मान गरिएको थियो । रोजगार संयोजकको पछिलो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन, कार्यक्रमको आर्थिक प्रगति विवरण, औषत रोजगारीको दिन संख्या र स्थानीय तहबाट गरिएको लागत साझेदारी गरी जम्मा चार वटा सूचकहरुको अधारमा उत्कृष्ट स्थानीय तह र सो स्थानीय तहमा कार्यरत रोजगार संयोजकलाई कदर पत्र सहित सम्मान गरिएको थियो । मधेश प्रदेशका उत्कृष्ट पालिकाहरुमा सप्तरीका कन्चनरुप नगारपालिका र कार्यरत रोजगार संयोजक पुनम कुमारी चौधरी, सिरहाका मिर्चैया नगरपालिका र कार्यरत रोजगार संयोजक गणेश कुमार गुप्ता तथा सर्लाहीका बागमती नगरपालिका र कार्यरत रोजगार संयोजक निलम कुशवाहालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा श्रम सचिव मुकुन्द प्रसाद निरौलाले प्रभावकारी रुपमा परिणाममुखी कार्य गर्न निर्दशन दिएका थिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव बसन्त बहादुर बोहराले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।